बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्वाचन क्षेत्रबाट सयौँ मानिस नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरेका झापा निर्वाचन क्षेत्र नम्बर ५ का ७८९ जनालाई सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्र गौरीगञ्ज गाउँ सम्मेलन तथा खबरदारी सभाको अवसरमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

नेपाली कांग्रेसका क्षेत्रीय सदस्य कमलेशकुमार राजवंशीले भ्रष्टाचार विरुद्धको आन्दोलन र सुशासनका निमित्त माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिन पार्टी प्रवेश गरेको बताए । जनमत पार्टीका केन्द्रिय सदस्य महेन्द्रकुमार राउतसमेत माओवादी केन्द्रमा प्रवेश गरे । नव प्रवेशीहरुलाई प्रचण्डले अविर र खदा लगाइदिएका थिए।