मनोज सिटौला
काठमाडौं । तारकेश्वर नगरपालिकामा लागुऔषध प्रयोगकर्ताले ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको खुलेको छ।
ट्राफिक प्रहरी जवान घिमिरे शुक्रबार तारकेश्वर नगरपालिका-९, मनमैंजुस्थित एक निर्माणाधीन घरको भुइँतलामा रक्ताम्ये अवस्थामा मृत भेटिएका थिए। खोटाङ घर भएका घिमिरे ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत थिए।
उनको बसाई सामाखुशी थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको प्रारम्भिक अनुसन्धानमा हत्यामा लागुऔषधका प्रयोगकर्ताको संलग्नता रहेको भेटिएको छ भने, कारणमा युवतीलाई जिस्काएको विषय पाइएको छ।
बिहीबार ड्युटी सकेर हिँडेका घिमिरे शुक्रबार फर्किएका थिएनन्। पछि उनको शब हत्या गरेको अवस्थामा भेटिएको थियो। शव भेटिएसँगै जिल्ला प्रहरी परिसर, काठमाडौं र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा हत्यामा संलग्न भएको निष्कर्ष निकाल्दै प्रहरी परिसरले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ। यसअघि अनुसन्धानका क्रममा २१ जना पक्राउ परेका परिसर प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बसन्त रजौरेले बताए।
आइतबार सार्वजनिक गरेर थप अनुसन्धान अगाडि बढेको छ। पक्राउ परेका सात जनालाई परिसरले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको थियो।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का २१ वर्षीय आइते भनेर चिनिने सचिन परियार, नुवाकोट दुप्चेचौर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधिखोला गाउँपालिकाकी २१ वर्षीया विपना, बसन्ती भनेर चिनिने वसुन्धारा कार्की, सोही ठाउँकी ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तानी गाउँपालिकाका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनेर चिनिने अमृत तामाङ र १३ वर्षका एकजना नाबालक छन्।
प्रहरी जवान घिमिरे पनि लागुऔषध गाँजाको प्रयोगकर्ता रहेको प्रहरीको आशंका छ।
घटनाको सिलसिला पक्राउ परेका सचिनबाट सुरु भएको देखिन्छ। सचिनसँग जवान घिमिरेको पहिलेदेखि नै चिनजान भएको खुलेको छ।
प्रहरी अनुसन्धानमा देखिए अनुसार घिमिरे ड्युटी सकेर बिहीबार खाजा खान एउटा होटल छिरेका थिए। जहाँ सचिन र पक्राउ परेकी अञ्जली श्रेष्ठ पनि रहेछन्। अञ्जली सचिनसँग लिभिङ टुगेदरमा रहेको पाइएको प्रहरीले जनाएको छ।
त्यही भेटका क्रममा सम्भवतः घिमिरेले अञ्जलीलाई जिस्काएको देखिएको छ। घिमिरेले अञ्जलीलाई जिस्काएपछि रिस उठेको सचिनले प्रहरीलाई बयान दिएका छन्।
त्यसपछि सचिनले अञ्जली बिरामी रहेको भन्दै घिमिरेलाई बाइकमा हरियोचौरसम्म पुर्याइदिन आग्रह गरेको बताएका छन्। ‘त्यसपछि एउटै बाइकमा तीनजना बसेर घटनास्थलसम्म पुगेको देखिन्छ,’ एसएसपी रजौरेले भने। घटनास्थल लागुऔषध प्रयोगकर्ताहरूले अखडाका रुपमा प्रयोग गर्दैआएका थिए।
त्यहाँ पुग्दा अन्य पनि रहेछन्। सबै मिलेर इँटा, रड र नकल (हातको औलामा हालेर चोटपटक लाग्न प्रयोग हुने फलाम) ले प्रहार गरी हत्या गरिएको देखिएको प्रहरीको भनाई छ ।






















































