झापा । यमपञ्चकको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। सामान्यतया चौथो तिहारको रूपमा गाई तिहार मान्ने चलन भए तापनि यसपटक तिथीको घटबढका कारण तेस्रो दिनमै गाई तिहार परेको छ।

गाईको धार्मिक महत्त्व 
मानव सभ्यताको विकासमा गाईको ठुलो महत्त्व छ। गाईबाट प्राप्त हुने दुध, दही, घिँउ, गहुँत, गोबर आदि वस्तुबाट प्राचीन कालदेखि नै मानिसले पौष्टिक आहार प्राप्त गर्दै आएको हो।

कृषियुग सुरु भएपछि कृषि-उत्पादन वृद्धिका लागि गाईको गोबर र गहुँत मल र विषादि दुवै रूपमा प्रयोग हुन थाल्यो । गोरुले जोतेर कृषिकर्ममा मानिसलाई ठूलो सहयोग पुग्यो। अरू कुनै खाद्यपदार्थ नभए पनि गाईका दुध, दही, घिँउ खाएर मानिस सजिलै बाँच्न सक्छ।

गाई जग्गा-जमिनजस्तो अचल वस्तु होइन, आ-आफू जहाँ जाने हो त्यहीँ लैजान सकिने चल वस्तु हो।

त्यसैले प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो। अरू वस्तुको मूल्यांकन गर्दा गाईको मूल्यसँग तुलना गरिन्थ्यो।

भैँसी, बाख्रा आदिबाट प्राप्त हुने दुध, दही आदि वस्तुभन्दा गाईबाट प्राप्त हुने ती वस्तु बढी पौष्टिक हुने, गाई छरितो पनि हुने र गाईका सबै कुरा उपयोगी हुने भएकाले मानिसले गाईलाई बढी महत्त्व दिएको देखिन्छ।

गाईलाई संस्कृतमा गौ भनिन्छ। जानु अर्थ भएको गम् धातुबाट गौ शब्द भन्ने भएकाले शब्दकल्पद्रुममा गौ शब्दको यौगिक अर्थ बताउँदै स्वर्ग जाने साधन भएकाले गौ भनिएको भन्ने उल्लेख छ।

गाईको बहुउपयोगितालाई दृष्टिगत गरी संस्कृतमा गाईको पर्यायवाची शब्द ‘माता’ भनिएको छ। आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको हो। 

सम्मानका दृष्टिले पनि गाईलाई देवता मानेर आमालाई जस्तै सम्मान गर्ने संस्कृतिको विकास गरिएको छ।

वेद, पुराण र धर्मशास्त्रमा गाईको निकै महिमागान भएको छ। संस्कृतको अथाह वाङ्मयमा कुनै न कुनै किसिमले गाईको महत्वबारे चर्चा नगरिएको ग्रन्थ पाउनै गाह्रो छ।

वैदिक संहितादेखि नै गाईको महिमाबारे चर्चा भएको पाइन्छ। ऋग्वेदमा ‘गो मे माता ऋषभः पिता’ भनेर गाईलाई आमा र गोरुलाई बुवा भनिएको छ। 

शुक्लयजुर्वेदको सुरु नै गाईको महिमागान गर्दै भएको छ। अथर्ववेदमा ‘यूयं गावो भेद कृशम्’ इत्यादि मन्त्रमा गाईका दूधले मानिस हृष्टपुष्ट र तेजस्वी हुने कुरा बताइएको छ।

सनातन संस्कृतिले गाईलाई जनावर होइन प्रत्यक्ष देवता मान्दछ। शास्त्रीय कथनअनुसार गाई लक्ष्मी हुन्। गाईका प्रत्येक अंगमा देवताहरूको वास हुन्छ। 

गाईका सिङका माझमा ब्रह्मा, निधारमा शिव, दुवै कानमा अश्विनिकुमार, आँखामा चन्द्रमा र सूर्य, कोखामा साध्यगण, घाँटीमा पार्वती, पीठमा नक्षत्रगण, जुरोमा आकाश, गोबरमा महालक्ष्मी र अष्ट ऐश्वर्य र स्तनमा समुद्रको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

गाईका दुध, दही, घिउ, गहुँत र गोबरलाई गव्य भनिन्छ। सबै गव्य पवित्र हुन्छन्। पञ्चगव्य खानाले हाम्रो छालादेखि हड्डीसम्म सबैतिर रहेका पाप नाश हुन्छन् भन्ने मान्यता छ। गोबरले लिपेपछि अशुद्ध भूमि पनि शुद्ध हुन्छ।

गहुँत छर्किनाले अपवित्र ठाउँ वा मानिस पवित्र हुन्छ। गाईका दुध-घिउमा पकाएको भोजन मानिसलाई मात्र होइन देवता र पितृका लागि पनि उत्तम भोजन हुन्छ। गाईको दान सबैभन्दा ठुलो दान मानिन्छ।

गरुडपुराणमा गाई दान गर्नाले वैतरणी नदी सजिलै तर्न सकिन्छ भन्ने चर्चा आएको छ। भविष्यपुराणमा गाईलाई नमस्कार गर्दा गाईदानको फल मिल्ने बताइएको छ भने विष्णुपुराणमा गाईको प्रदक्षिणा गर्नाले सात द्वीपयुक्त पृथिवीको परिक्रमा गरेको फल मिल्ने कुरा बताइएको छ।

यसरी जन्मदेखि मृत्युसम्मका सबै अपवित्रताबाट शुद्ध गर्ने र मृत्युपश्चात् पनि पारलौकिक सुख दिने प्राणीका रूपमा गाईको महिमागान गरिएको छ। गाईका यिनै विशेषताले गर्दा यसको पूजा गर्ने संस्कृतिको विकास भएको हो। कार्तिक कृष्ण औँसीमा लक्ष्मीपूजा गरिने र गाईलाई पनि लक्ष्मीकै रूप मानिने भएकाले लक्ष्मीपूजासँगै गाईपूजा गरिएको हो।

औँशीका दिन बिहान गाई पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँशी तिथी लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार बिहान गाईको पूजा गरिँदैछ।