बिर्तामोड । व्यवसायी जीवनकुमार खड्कालाई नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले अध्यक्षको नेतृत्व प्रदान गरेको छ । खड्का १ दशकबढी औषधि व्यवसायीको रूपमा कृयाशिल छन् । दमकमा शुक्रबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट खड्कालाई ३९ बढी मतान्तरले एक कार्यकालका लागि अध्यक्ष सम्हाल्ने जिम्मेवारी प्रदान गरेको हो ।
कार्यसमितिको अन्य पदमा सहमति जुटाउँदै सदस्य मनोनीत गरेको संघले अन्ततः सचिव र अध्यक्ष पदमा सहमति जुटाउन नसकेपछि निर्वाचनमा जान बाध्य भएको थियोे ।
अध्यक्षका लागी औषधि ब्यवसायी प्रदीप खरेल र खड्काका नाउँमा सहभागी ब्यवसायीले मतदान गरेका थिए । मतदानमा झरेको मतपरिणामको आधारमा खड्काले खरेललाई ३९ बढी मतले पाखा लगाउँदै बिजयी बनेका हुन् । खड्काले १५४ मत पाएका थिए भने अध्यक्षका अर्का प्रत्यासी खरेलले ११५ मत पाएका थिए । बिजयी खड्का बिर्तामोडस्त्थस्थित त्रिशूल फर्माका सञ्चालक हुन् ।
त्यस्तै, सचिवमा यज्ञराज कार्की विजयी भए । उनले १५१ मत पाएका थिए । कार्कीका प्रतिस्पर्धी प्रल्हादराम ढुंगानाले १२१ मत पाएको निर्वाचन समितिका संयोजक नरेन्द्र बरालले जानकारी दिए ।
संघको दोस्रो कार्यकालका लागि अन्य पदमा भने सर्वसम्मत भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, थोक उपाध्यक्षमा विवेक बजगाईं र खुद्रा उपाध्यक्षमा राकेश शाह सर्वसम्मत भएका हुन् ।
त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।
थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
दोस्रो जिल्ला अधिवेशनबाट उद्घाटन कार्यक्रम संघका केन्द्रीय अध्यक्ष प्रकाशकुमार खण्डेलवालको प्रमुख अतिथ्यतामा सप्पन्न भएको थियो ।
कोशी प्रदेश अध्यक्ष कुमर खतिवडा, औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्र, एप्पोनका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।






















































