के हो लाखे नाच ?
लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरु नाचिन्छन् । प्राय: नाच देवीदेवताका हुन्छन् । यी मध्ये लाखे नाच धेरै रोचक हुन्छ । यो नाच गुँला पर्वमा उपत्यकाका विभिन्न ठाउँमा र इन्द्र जात्रामा काठ्माडौँमा देखाइन्छ । मुख्यतया, नवदुर्गा नाच भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा विशेषगरी देखाइन्छ ।
लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा बिभिन्न मतभेद रहेको छ । कसैले राजा हरिसिंहदेवले सिम्रौनगढबाट तलेजु भवानीलाई उपत्यकामा ल्याउँदा देवीसँगै लाखेलाई ल्याइएको हो भनिन्छ । कतिपयले भने नुवाकोटबाट आएका ठकुरी राजाले लाखेलाई उपत्यकामा ल्याएका हुन भन्ने तर्क पनि राख्दछन । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ ।
नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच जिल्लाबाट लोप हुने अवस्थामा जिल्लाभर प्रचलित नै छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौं स्थानमा भने यस नाचले थोर बहु आफ्नो स्थान ओगटेकै छ ।
नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहेपनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउँदै गरेको महुस गरिएको छ । मुख्यगरी कृष्णजन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि बिदेशी पर्यटकको पनि उतिक घुइँचो लाग्ने गर्दछ । नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदेओस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको केटाकेटीहरुले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठा लाग्न सक्छ ।
लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।
मेरो मेचीनगर अनलाइनबाट





















































